संवाददाता
७ माघ २०८२, मंगलवार १५:२७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ। न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा धरौटीमा छाड्ने आदेश दिएको हो।
अदालत स्रोतका अनुसार लामिछानेसँग धरौटी माग गरिएको विषय पुष्टि भएको छ। उनीविरुद्ध वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरिएको आरोप छ। सोही प्रकरणमा लामिछानेसहित २९ जनाविरुद्ध गत असार १ गते पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो।
उक्त मुद्दामा अभियोजन पक्षले कुल ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो दाबी गरेको छ।
लामिछाने अदालतमा हाजिर भई कानुनी प्रक्रिया पूरा गरेपछि प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन–२ बाट उम्मेदवारी मनोनयनमा जाने तयारीमा रहेको बताइएको छ।





प्रतिकृया दिनुहोस्