तेह्रथुम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले चुनावी बहसलाई कागजी तथ्य र अनलाइन सूचनामा मात्र सीमित नराखी, जनताको जीवन र भोगाइसँग जोड्नुपर्ने बताएका छन्। उनका अनुसार कुनै पनि जिल्लाको वास्तविक चित्र त्यहाँ पुगेपछि, स्थानीयसँग बसेर संवाद गरेपछि मात्र स्पष्ट हुन्छ।
म्याङ्लुङको देवीथान क्षेत्रमा आयोजित भेटघाट कार्यक्रममा शाहले भूगोल, हावापानी र जनजीवनलाई प्रत्यक्ष महसुस गर्नु नै नीति निर्माणको आधार बन्नुपर्ने बताए। “कुनै ठाउँको नाम रिपोर्ट वा इन्टरनेटमा भेटिन्छ, तर समस्या र सम्भावना त्यहाँका मानिससँग बसेर कुरा गरेपछि मात्र बुझिन्छ,” उनले भने।
इन्जिनियरिङ पृष्ठभूमिबाट आएको उल्लेख गर्दै शाहले ठूला र अव्यावहारिक योजनाभन्दा स्थानीय तहबाटै सुरु गर्न सकिने कामलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। उनले विकासलाई व्यवहारिक र परिणाममुखी बनाउनु आफ्नो राजनीतिक सोच भएको बताए।
तेह्रथुमको कृषि सम्भावनाको चर्चा गर्दै उनले उत्पादन र बजारबीचको दूरी नै यहाँको मुख्य चुनौती रहेको उल्लेख गरे। किसानले उत्पादन गरे पनि उचित व्यवस्थापन र पहुँचको अभावले लाभ लिन नसकेको उनको भनाइ थियो।
कार्यक्रममा रास्वपा तेह्रथुमका उम्मेदवार सुरेन्द्र कार्कीको समेत उपस्थिति थियो। शाहले जिल्लाबाट उठेका सुझाव र मागलाई आगामी नीति र योजनामा समेट्ने उद्देश्यले आफूहरू निरन्तर क्षेत्रमै पुगिरहेको बताए।
झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका शाह पूर्वी नेपाल केन्द्रित अभियान अन्तर्गत इलाम, ताप्लेजुङ र पाँचथर हुँदै तेह्रथुम पुगेका हुन्।





प्रतिकृया दिनुहोस्