काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा उम्मेदवार खगेन्द्र सुनारको एक पुरानो अन्तर्वार्ताको अंश सामाजिक सञ्जालमा भाइरल भएपछि पार्टीभित्र र बाहिर चर्चा चुलिएको छ। उक्त क्लिपमा उनले ‘नेपालमा गाई खान पाउनुपर्ने’ धारणा राखेको जस्तो देखिएपछि मतदाता र राजनीतिक वृत्तमा प्रश्न उठ्न थालेका हुन्।
दलित अभियानसँग जोडिएर चर्चामा आएका सुनार यसअघि पनि आफ्ना अभिव्यक्तिका कारण विवादमा परेका थिए। पछिल्लो घटनापछि भने रास्वपाका उम्मेदवारहरूसँगै पार्टी नेतृत्वसमेत दबाबमा परेको देखिन्छ। मतदाताहरूले सार्वजनिक कार्यक्रममा रास्वपा प्रतिनिधिहरूसँग यस विषयमा प्रष्टीकरण माग्न थालेका छन्।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले आफू चुनावी कार्यक्रममा व्यस्त रहेको भन्दै विषयको विस्तृत जानकारी लिने प्रक्रियामा रहेको बताए। उनले सामाजिक सञ्जालमा देखिएको क्लिप पुरानो अन्तर्वार्ताबाट लिइएको हुन सक्ने उल्लेख गर्दै, त्यसबेला भावनात्मक अवस्थामा दिइएको अभिव्यक्ति अहिले पनि त्यही सोचको प्रतिनिधित्व गर्छ भन्नेमा आफू विश्वस्त नरहेको धारणा राखे।
यसैबीच पार्टीका प्रवक्ता मनिष झाले पनि उक्त भिडिओ पुरानो रहेको बताए। उनका अनुसार सुनारले आफैंले भिडिओमार्फत स्पष्टीकरण जारी गरिसकेका छन् र पार्टीले थप आधिकारिक टिप्पणी आवश्यक नदेखेको छ।
विवाद बढेपछि सुनारले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै आफ्नो भनाइ तोडमोड गरेर प्रस्तुत गरिएको दाबी गरेका छन्। उनले आफू शाकाहारी भएको र कुनै पनि प्रकारको जीवहत्या वा राष्ट्रिय जनावरप्रति असम्मानको पक्षमा नरहेको स्पष्ट पारेका छन्। “मेरो भनाइ प्रविधिको प्रयोगमार्फत छेउटुप्पा काटेर फैलाइएको हो,” उनको दाबी छ।
यस विषयलाई लिएर सामाजिक सञ्जालमा समर्थन र आलोचना दुवै किसिमका प्रतिक्रिया देखिन थालेका छन्।





प्रतिकृया दिनुहोस्