काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गुल्मी–१ बाट प्रतिनिधिसभा उम्मेदवार सागर ढकालको एक भिडिओ सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। डडेलधुरासँग जोडिएको उनको कथनलाई लिएर सुदूरपश्चिमका प्रयोगकर्तामाझ समर्थन र आलोचना मिसिएको बहस देखिएको हो।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा ढकाल नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारका रूपमा डडेलधुरा पुगेका थिए। यसपटक भने देउवा निर्वाचनमा नउत्रिएपछि आफू डडेलधुराबाट नलडेको र पार्टीले गृहजिल्ला गुल्मी–१ बाट टिकट दिएको ढकालले बताउँदै आएका छन्।
भाइरल भिडिओ गुल्मीमा आयोजित एक चुनावी कार्यक्रमको भएको बताइएको छ। उक्त कार्यक्रममा उनले डडेलधुरा पुगेको पहिलो दिनको अनुभव सुनाउँदै स्वागतका नाममा केही युवाहरू बाइकमा आएर साथ दिएको र त्यसपछि बसाइ–खानाको खर्च अस्वाभाविक रूपमा बढेको प्रसंग राखेका छन्।
ढकालका अनुसार आफू सामान्य खानपान र साधारण बसाइमा विश्वास गर्ने व्यक्ति भए पनि बिहान उठ्दा बिल अपेक्षाभन्दा धेरै आएको देखेपछि छक्क परेका थिए। पछि थाहा पाएअनुसार स्वागतमा आएका केहीले मासु र पेय पदार्थ सेवन गरेको भन्दै उनले त्यसपछि सीमित टोलीसहित प्रचारमा निस्किएको बताए।
यस अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया देखिएको छ। समर्थकहरूले खर्च कसले गर्यो भन्ने स्पष्ट पार्न माग गरिरहेका छन् भने आलोचकहरूले यसले सुदूरपश्चिमको छविमाथि नकारात्मक असर परेको दाबी गरेका छन्।
भिडिओलाई लिएर जारी बहसले ढकालको चुनावी अभियानमा थप चासो र चर्चा थपेको देखिन्छ।





प्रतिकृया दिनुहोस्