काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद दिवसको अवसरमा देश परिवर्तनका लागि जीवन आहुति दिने सहिदहरूको सपना अझै पूर्ण रूपमा साकार नभएको बताएका छन्।
सन्देशमार्फत उनले राष्ट्र, लोकतन्त्र र सामाजिक न्यायका लागि बलिदान दिने ज्ञात तथा अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपालको राजनीतिक परिवर्तन सहिदहरूको त्याग र रगतको इतिहाससँग जोडिएको उल्लेख गरे।
प्रचण्डले राणा शासनविरुद्धको आन्दोलनदेखि चार सहिद, पञ्चायती कालको संघर्ष, जनयुद्ध, जनआन्दोलन तथा मधेस र थारू आन्दोलनसम्मको योगदान स्मरण गरे। पछिल्लो समयका जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको बलिदानलाई पनि उनले परिवर्तनको निरन्तर प्रक्रियाको हिस्सा भएको बताए।
उनका अनुसार गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षजस्ता उपलब्धि सहिदहरूको त्यागकै परिणाम हुन्। तर सामाजिक न्याय, आर्थिक समानता, सुशासन र भ्रष्टाचारविरुद्धको लडाइँ अझै पूरा नभएकाले सहिदका सपना अधुरै रहेको उनको भनाइ छ।
प्रचण्डले सहिद दिवसलाई आत्मसमीक्षा र जनताको पक्षमा उभिने संकल्प गर्ने दिनका रूपमा लिनुपर्ने उल्लेख गर्दै, प्राप्त उपलब्धिहरूको जगमा उभिएर समुन्नत समाजवादी नेपाल निर्माणतर्फ सबैलाई अघि बढ्न आह्वान गरेका छन्।





प्रतिकृया दिनुहोस्