काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले सहिद दिवसको अवसरमा सन्देश जारी गर्दै सहिदहरूको साहस, चेतना र दृढ संकल्पकै कारण आज देश ऐतिहासिक परिवर्तनको चरणमा उभिएको बताएकी छन्।
उनले नागरिक स्वतन्त्रता र लोकतन्त्रको रक्षाका लागि आफ्नो जीवन समर्पण गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै अब कुनै पनि आमाको काख फेरि रित्तिन नपरोस् भन्ने कामना व्यक्त गरिन्।
सन्देशमा प्रधानमन्त्री कार्कीले न्याय, समानता र उज्यालो भविष्यको अपेक्षामा उठेको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका वीरहरूलाई पनि सम्मानपूर्वक स्मरण गरेकी छन्। उनीहरूको बलिदानले समाजलाई उत्तरदायी शासन र नैतिक मूल्यतर्फ अघि बढ्न प्रेरणा दिएको उनको भनाइ छ।
प्रधानमन्त्रीले शासकीय मूल्य, पारदर्शिता र नागरिकको सम्मानलाई केन्द्रमा राखेर राज्य सञ्चालन गर्नु प्रत्येक नेतृत्वको स्थायी दायित्व भएको उल्लेख गर्दै, सहिदहरूको सपना साकार पार्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएकी छन्।





प्रतिकृया दिनुहोस्