काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै २४ लाख ५७ हजार जनाले हस्ताक्षर गरेको बताएको छ।
आज (बिहीबार) केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर सभापतिको न्यायका लागि २४ लाख ५७ हजार ६१८ जनाले हस्ताक्षर गरेको बताएको हो । अभियानका संयोजक दीपक बोहराका अनुसार असार ७ गतेदेखि सुरू गरिएको उक्त अभियान कम्तीमा एक सय दिन चल्नेछ । ‘हालसम्म प्रदेश, जिल्ला र पालिकास्तरीय समितले अभियानको नेतृत्व गरेका छन्,’ बोहराले भने । रास्वपाले साउन ५ गते वडा समितिले अभियानलाई जनस्तरसम्म पुर्याउन घरदैलो गर्ने पनि उनले जानकारी दिएका छन् ।
उनका अनुसार अब नेपाल–भारत सीमा नाकाका मुख्य विन्दु (काकडभिट्टा, रक्सौल, जोगवनी, बेलहिया, जमुनाह, गड्डाचौकीलगायत), विभिन्न विमानस्थल, बसपार्क र बढी सार्वजनिक आवागमन हुने क्षेत्रमा पनि ऐक्यबद्धता डेस्क सञ्चालन गरिने छ । त्यस्तै बोहराले उपचुनाव हुने रुपन्देही–३ का ३६ वटै वडामा बुथमार्फत हस्ताक्षर अभियान सञ्चालन गर्ने उनले बताए।





प्रतिकृया दिनुहोस्