नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुसभित्र वडा, क्षेत्र र केन्द्रीय गरी ३ तहको मात्रै अधिवेशन गर्न प्रस्ताव गरेका छन्। उनले बुधबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकमा यो प्रस्ताव राखेका हुन्।
यसअघि केन्द्रीय समितिले वडा, पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र, जिल्ला र प्रदेश हुँदै ७ तहको अधिवेशनपछि केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। तर क्रियाशील सदस्यता वितरणलगायतका काम समयमै नसकिँदा उक्त कार्यतालिका कार्यान्वयन गर्न कठिन हुने देखिएको थापाको भनाइ छ।
हालसम्म करिब ६० जिल्लाको मात्रै क्रियाशील सदस्यता प्रणालीमा इन्ट्री भएको छ भने १५ भन्दा बढी क्षेत्रमा नयाँ क्रियाशील सदस्यता वितरणकै प्रक्रिया जारी छ। कतिपय ठाउँमा बदनियतका साथ विवाद सिर्जना गरिएको भन्दै थापाले फिल्डमै गएर समस्या समाधान गर्न सर्वाधिकार सम्पन्न टोली पठाउने प्रस्तावसमेत गरेका छन्।
थापाले फागुन २१ को चुनावअघि महाधिवेशन अनिवार्य रूपमा गर्नुपर्ने बताउँदै अब सातै तहको अधिवेशन गर्ने हो भने नियमित महाधिवेशन नै नहुने जोखिम रहेको चेतावनी दिएका छन्। उनले वडा र क्षेत्रको अधिवेशन गरेर प्रतिनिधि चयन गरी पुस २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्न सकिने बताएका छन्।
उनका अनुसार विगतका महाधिवेशनमा पनि सबै तल्ला तहका अधिवेशन नभई केन्द्रीय महाधिवेशन गरिएको उदाहरण छन्।





प्रतिकृया दिनुहोस्