काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देश अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशासहित अगाडि बढ्नुपर्ने स्पष्ट धारणा व्यक्त गरेका छन्।
उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चद्वारा शनिबार काठमाडौँको बौद्धमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले मुलुकमा राजनीतिक परिवर्तन अपरिहार्य भइसकेको बताए। उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई देशको भविष्य बदल्ने महत्वपूर्ण अवसरका रूपमा लिन सबैलाई आग्रह गरे।
निर्वाचनमार्फत सही, इमानदार र जनउत्तरदायी नेतृत्व चयन गर्न सकिने उल्लेख गर्दै मन्त्री घिसिङले नागरिकहरू सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिए।
“अब देश पुरानै ढर्राबाट अगाडि बढ्न सक्दैन,” उनले भने, “देशलाई नयाँ शिराबाट अगाडि बढाउन सक्ने नेतृत्व आवश्यक छ, र त्यो नेतृत्व दिन जनता स्वयं अघि सर्नुपर्छ।”
उज्यालो नेपाल पार्टीले देशभर आफ्ना संगठनात्मक संरचना विस्तार गर्दै लगेको उल्लेख गर्दै उनले सानो झिल्कोबाट सुरु भएको अभियान आज राष्ट्रिय अभियानका रूपमा विकसित हुँदै गएको बताए।
“एउटा सानो उज्यालोको झिल्को अब देशैभर फैलिँदैछ,” उनले भने, “यसले देशको नेतृत्व परिवर्तन गर्ने आधार तयार गर्दैछ।”
कार्यक्रममा उनले राजनीतिक एकताको विषयमा पनि धारणा राखे। कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने भन्दै नयाँ शक्तिहरूले सबैको अस्तित्व स्वीकार गर्दै सम्मानपूर्वक एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याए।
“एकताको अर्थ अरूलाई समाप्त गर्नु होइन,” उनले भने, “सबैको अस्तित्व स्वीकार गर्दै, सबैलाई सम्मान हुने गरी अघि बढ्नु नै साँचो एकता हो।”
जनताको भावना नयाँ राजनीतिक शक्तिहरू एकजुट भएको हेर्न चाहेको उल्लेख गर्दै मन्त्री घिसिङले अहंकार त्यागेर साझा उद्देश्यका लागि एकताबद्ध हुनुपर्ने बताए।
उज्यालो नेपाल पार्टीको पहिचान जनजीवनसँग जोडिएको बताउँदै उनले घरमा बत्ती बल्दा महसुस हुने ‘उज्यालो’ नै पार्टीको सन्देश भएको उल्लेख गरे। “घरमा बत्ती बल्यो भने उज्यालो हुन्छ, त्यही उज्यालोबाट उज्यालो नेपाल चिनिनुपर्छ,” उनले कार्यकर्तालाई निर्देशन दिए।
मन्त्री घिसिङले उज्यालो नेपाल पार्टीप्रति जनताको विश्वास बढ्दै गएको दाबी गर्दै त्यो विश्वासलाई अझ सुदृढ बनाउँदै निर्धक्क भएर अघि बढ्नुपर्ने बताए। कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।





प्रतिकृया दिनुहोस्