काठमाडौं ।
धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्। स्थानीय तहमा पाएको जनसमर्थनलाई आधार बनाएर संघीय राजनीतिमा प्रवेश गर्ने उनको तयारी देखिन्छ।
बुधबार सामाजिक सञ्जालमार्फत साम्पाङले आफू सुनसरी–१ बाटै चुनाव लड्ने स्पष्ट पारे। “म सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनाव लड्नेछु,” भन्दै उनले आफ्नो राजनीतिक यात्रालाई संघीय तहसम्म विस्तार गर्ने संकेत गरेका छन्।
सुनसरी–१ मा धरान उपमहानगरपालिकाका सबै वडा समेटिएका छन्। यही कारणले यो क्षेत्र साम्पाङका लागि राजनीतिक रूपमा अनुकूल मानिन्छ। २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा उनले धराने जनताको स्पष्ट विश्वास जितेका थिए। सोही जनसमर्थनलाई निरन्तरता दिने विश्वाससहित उनले यही क्षेत्र रोजेको बुझिन्छ।
मेयरका रूपमा कार्यकालभर श्रम संस्कृतिको वकालत, सार्वजनिक काममा प्रत्यक्ष सहभागिता र जनतासँगको नजिकको सम्बन्धका कारण आफूले संसदीय चुनाव जित्न सक्ने साम्पाङको दाबी छ। उनी धरानमा सुरु गरेको राजनीतिक सन्देशलाई संघीय संसदसम्म पुर्याउने लक्ष्यमा छन्।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा भने सुनसरी–१ बाट जनता समाजवादी पार्टीका नेता अशोक राई विजयी भएका थिए। उनले १७ हजारभन्दा बढी मत ल्याउँदा रास्वपा उम्मेदवार गोमा तामाङ र माओवादी केन्द्रका मुक्सामहाङ सुब्बा प्रतिस्पर्धामा थिए। यसपटक साम्पाङको प्रवेशले उक्त क्षेत्रमा चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।
स्थानीय तहमा स्थापित पहिचान र जनसमर्थनलाई आधार बनाएर संघीय राजनीतिमा उक्लिने साम्पाङको निर्णयलाई धरान केन्द्रित राजनीतिबाट राष्ट्रिय स्तरतर्फको कदमका रूपमा हेरिएको छ।





प्रतिकृया दिनुहोस्