काठमाडौँ, वैशाख ३ — राष्ट्रिय मानवअधिकार आयोगले शिक्षक आन्दोलन वार्ताको माध्यमबाट यथाशीघ्र समाधान गर्न सरकारलाई आग्रह गरेको छ। आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै शिक्षा जस्तो संवेदनशील क्षेत्रमा देखिएको समस्याले पठनपाठन अवरुद्ध भएको भन्दै सरकारलाई वार्तामार्फत समाधानको बाटो खोल्न अनुरोध गरेको हो।
नेपाल शिक्षक महासंघले शिक्षा ऐन संशोधन, शिक्षा नीति उत्पादनमुखी बनाउने र विगतमा भएका सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने माग राख्दै काठमाडौँमा १४ दिनदेखि आन्दोलन गर्दै आएको छ। आयोगले यो आन्दोलनले बालबालिकाको शिक्षाको अधिकारमा प्रत्यक्ष असर पारिरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आयोगले सरकारलाई विद्यालय शिक्षासम्बन्धी कानून निर्माण गर्दा सरोकारवाला पक्षहरूसँग पर्याप्त छलफल तथा परामर्श गर्न र विगतका सम्झौताहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सुझाव दिएको छ।
विज्ञप्तिमा उल्लेख भएअनुसार, आन्दोलन लम्बिँदै गएमा एसईई परीक्षाको नतिजा, कक्षा १२ को परीक्षा र बालबालिकाको भर्ना अभियानसमेत प्रभावित हुने देखिएको छ। माइतीघर क्षेत्रमा भइरहेको प्रदर्शनका कारण आवागमनमा समेत समस्या देखिएको आयोगले जनाएको छ।
प्रवक्ता टीकाराम पोखरेलका अनुसार आयोगले आन्दोलनको स्थलगत अनुगमनसमेत गरिरहेको छ। आयोगले शिक्षकहरूका शान्तिपूर्ण प्रदर्शनलाई मानव अधिकार अनुकूल बताउँदै आन्दोलन गर्नैपर्ने अवस्था सिर्जनु भने चिन्ताको विषय भएको टिप्पणी गरेको छ।





प्रतिकृया दिनुहोस्